हुलाकी न्यूज,काठमाडौँ : यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। हालै गठन भएको सरकारका मन्त्रीहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो। विस्फोटपछि गोली समेत चलेको थियो। धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको हो।
अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ र श्रम मन्त्रालयका उपसचिव मारिएका छन्। दुई जना उपमन्त्री घाइते भएका छन्। यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन्।
मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ। यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूणर् आतंकवादी कार्य गरेको आरोप लगाएका छन्।