हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिपरिषद्मा ८ मन्त्री र १ राज्यमन्त्री थप गरेका छन् । दुई जनालाई बिदा दिइएको छ । थपमध्ये पूर्वमाओवादी पक्षका पाँच जना छन् ।
पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, मणिचन्द्र थापा खानेपानीमन्त्री, दावा लामा तामाङ युवा तथा खेलकुदमन्त्री, प्रभु शाह सहरी विकासमन्त्री र गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका छन् । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित पूर्वमाओवादीबाट ७ जना मन्त्री भएका छन् ।
प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्रीमा प्रेमबहादुर आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा जुलीकुमारी महतोलाई नियुक्त गरेका छन् । विमला विश्वकर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ ।

 

 

६ मन्त्रीको मन्त्रालयसमेत हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला  तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई कृषि तथा पशुपक्षी विकास, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई भूमि व्यवस्थाको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रालयमा महिला तथा बालबालिकामन्त्री लीलानाथ श्रेष्ठलाई ल्याइएको छ । कृष्णगोपाल श्रेष्ठलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनाइएको छ । उनी यसअघि सहरी विकासमन्त्री थिए ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

नवनियुक्त मन्त्रीले शीतल निवासमा शुक्रबार साँझ राष्ट्रपतिबाट शपथ लिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले ७ जना राजीनामा दिएका र दुई हटाएर ९ जना मन्त्री थप गरेका हुन् । प्रधानमन्त्रीले यसअघि असोज २८ मा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलसहित तीन मन्त्री थपिएका थिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरिएको थियो ।

को कस्ता मन्त्री  
माओवादी केन्द्रबाट अर्घाखाँचीका प्रत्यक्ष निर्वाचित सांसद टोपबहादुर रायमाझी एकपटक उपप्रधान र चारपटक मन्त्री भइसकेका छन् । २०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा भौतिक योजना, २०६८ को डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास, २०६९ मा भट्टराई नेतृत्वको सरकार पुनर्गठन हुँदा शान्ति तथा पुनर्निर्माण र २०७२ को केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेका थिए ।

माओवादी केन्द्रबाटै रौतहटबाट प्रत्यक्ष निर्वाचित प्रभु साह यसअघि तीन पटक मन्त्री भइसकेका छन्। २०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा कानुन, २०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका थिए।

प्युठानका थापा नेकपा स्थायी कमिटी सदस्य हुन् । उनले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् । रायमाझी, साह र थापा नेकपाका स्थायी समिति सदस्य हुन् ।  सभामुख अग्नि सापकोटाको गृहजिल्लाका लामा पनि पहिलो पटक मन्त्री बनेका हुन् । कैलाली क्षेत्र ३ बाट निर्वाचित सांसद चौधरी दोस्रो पटक मन्त्री बनेका हुन् । लामा र चौधरीपूर्वमाओवादीबाट हुन् ।
एमालेबाट दार्चुलाका प्रत्यक्ष निर्वाचित सांसद ठगुन्ना र डोटीका निर्वाचित सांसद आले पनि पहिलो पटक मन्त्री बनेका छन् । धनुषाकी समानुपातिक सांसद महतो पहिलो पटक मन्त्री बन्दैछन् । उनका श्रीमान् नेकपा स्थायी समिति सदस्य रघुवीर महासेठ ओलीकै मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्री थिए ।लामा, चौधरी,ठगुन्ना, आले र महतोनेकपा केन्द्रीय सदस्य हुन् । बर्दियाकी एमालेबाट समानुपातिक सांसद भएकी विकले राज्य मन्त्री बन्ने अवसर पाएकी छन् ।साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.