हुलाकी न्यूज, जनकपुरधामः
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले युवाहरुलाई कृषि क्षेत्रमा आउन आह्वान गरेका छन्। मन्त्री साहले सञ्चार माध्यमले पनि कृषकको समस्या देखाउनु पर्ने बताएका हुन्।

हुलाकी न्यूजले जनकपुरधाममा निःशुल्क आयोजना गरेको आधारभूत पत्रकारिता तथा न्यू मिडिया तालिमको समापन गर्दै मन्त्री साहले मिडियामार्फत कृषि क्षेत्रको प्रचारप्रसार हुनु पर्ने र युवालाई आर्कषित गर्नु पर्ने धारणा राखे।

बैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई कृषि कर्ममा लगाउन प्रदेश सरकार धेरै योजना ल्याएको र बजेटसमेत विनियोजन गरेको उनले जानकारी दिए। प्रदेश सरकारको योजनाको लाभ लिन मन्त्री साहले किसानहरुलाई आग्रह गरे।

सिचाइ आयोजनाका लागि पनि प्रदेश सरकारले काम गरिरहेको उनले जनाए।

वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रशिक्षार्थी पत्रकारहरुले राखेको जिज्ञाशामा मन्त्री साहले भने,‘प्रतिनिधिसभा भंग गर्नु लोकतन्त्र विरोधी कदम हो। आन्दोलनहरुको उपलब्धीलाई समाप्त पार्ने खेल हो। प्रधानमन्त्री र राष्ट्रपतिको कदमको आलोना हुनु पर्छ।’

प्रदेश २ मा हत्या र बलात्कारको घटना बढेको विषयमा मन्त्री साहले आफूहरुको मातहतमा प्रहरी प्रशासन नभएको गुनासो व्यक्त गरे। कतिपय षड्यन्त्रका तहत प्रदेशलाई बदनाम गराउने खेल पनि भइरहेको उनले आँकलन गरे।

पत्रकारिता तालिममा सहभागी विद्यार्थीहरुलाई मन्त्री साहले प्रमाणपत्र वितरण गरेका थिए।

तालिमका प्रशिक्षक बीपी साहले मधेशमा गुणस्तरीय पत्रकारिता आवश्यक रहेको र पढेलेखेका व्यक्ति मिडियामा आउनु पर्ने धारणा राखे। प्रदेश २ मा सक्षम पत्रकारहरुको आवश्यकता भएकोले आफूले तालिम सञ्चालन गरेको पत्रकार साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.