हुलाकी न्यूज, जनकपुरधामः
उखु किसानलाई भुक्तानी नदिइ लाचार पर्नेहरुको प्रतिकार हुने चेतावनी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले दिएका छन्।

काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कृषि मन्त्री साहले भनेका छन्,‘उत्पीडन तथा सबैखाले भेदभावविरुद्धको जनसंघर्ष र स्वशासनको आकांक्षाबाट जनअनुमोदित प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने विश्वास दिलाउन चाहन्छु।’

किसानहरुको समस्या समाधानका लागि आफुहरुले यसअघि पनि प्रयत्न गरेको तर सफल हुन नसकेको उनले भनेका छन्।
‘वैधानिक रुपमा यावत् समस्यालार्ई समाधान गर्ने क्षेत्राधिकार र सामथ्र्य संघ सरकारको रहे पनि हामीले गत वर्षसमेत यस विषयलाई महत्वपूर्ण र अग्रप्राथमिकता भएको ठहर गर्दै उच्चस्तरीय समिति गठन गरी किसानहरुका समस्याबारे स्थलगत अध्ययन अवलोकन गरेका थियौं।’ मन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘उद्योगी(मिल सञ्चालक) र किसानहरुका बीच सार्थक एवं परिणाममुखी वार्ता गराई सदैवका लागि भुक्तानी समस्या सुल्झाउने ठोस तथा दिगो कार्यरुप तयार गर्न पहल गरेका थियौं। तर, उद्यागीहरुको अनिच्छा, अर्घेल्याइँ र उपेक्षाका कारण हाम्रो प्रयासले मूर्त रुप लिन सकेन।’

चिनी मिलहरुबाट उखुबापतको भुक्तानी नपाएको भन्दै प्रदेश २ का किसान संघीय राजधानीमा आन्दोलन गरिरहेको विषयलाई गम्भीरतापूर्वक नियालिरहेको मन्त्री साहले जनाएका छन्।

कृषिक्षेत्रबाट देशमा आर्थिक समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य किसानको आँखामा आँसु र अनुहारमा बोझिलो पीडाबाट सम्भव नहुने उनको भनाई छ।

उखु किसानहरुको माग तत्काल पुरा गर्न मन्त्री साहले संघ सरकारसँग आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.