
हुलाकी न्यूज, धनगढी(कैलाली): टीकापुर प्रकरणमा उच्च न्यायालयको फैसला विरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ।
नेताहरुको निर्देशन र प्रलोभनमा परी उच्च अदालत दिपायलका न्यायाधीशहरुले टीकापुर विद्रोहका आरोपितहरुप्रति विभेदपूर्ण फैसला सुनाएको भन्दै मोर्चाले आन्दोलनको घोषणा गरेको हो।
कैलाली जिल्ला अदालतबाट रिहा भएका टीकापुर विद्रोहका आरोपितलाई पनि उच्च न्यायालय दिपायलले जन्मकैदको फैसला सुनाएको छ।
मुख्य अभियुक्त रेशम चौधरीको जन्मकैदको फैसलालाई सदर गरेको छ भने लक्ष्मण थारुसहितका ७ जनालाई जन्मकैदको फैसला उच्च अदालतले सुनाएको छ।
३ जनालाई दश वर्ष र अन्यलाई ५ वर्ष कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सिताराम मण्डलले गरेका छन्।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका महासचिव तुल्सी चौधरीद्वारा जारी विज्ञप्तिमा उच्च न्यायालयको फैसला पूर्वाग्रही भएकोले आन्दोलनको घोषणा गर्नु परेको जनाइएको छ।
न्यायालयले आफ्नो विवेक गुमाउँदै गरेको फैसलाको प्रति जलाउने र थप आन्दोलनका कार्यक्रम गर्ने चौधरीले जनाएका छन्।
टीकापुर विद्रोह राजनीतिक घटना भएकोले छलफलको माध्यमबाट राजनीतिक रुपमा निकास खोजिनु पर्ने माग मोर्चाले गरेको छ।