हुलाकी न्यूज,कैलाली : उच्च अदालत दिपायलले पनि कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छन्।
उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका हुन्।
६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा यसअछि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिइन्।
यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालतले जन्मकैदकै सजाय सुनाएको छ। जिल्ला अदालत कैलालीले भने लक्ष्मण चौधरीलाई तीन वर्ष मात्रै सजाय हुने फैसला गरेको थियो। उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा बसेर छुटिसकेका छन्।
टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए। रेशम चौधरी राजपाबाट निर्वाचित प्रतिनिधि सांसद हुन्। तर टीकापुर घटनाका मुख्य अभियुक्त रहेकाले उनी निलम्बित छन्।