हुलाकी न्यूज, महोत्तरीः एक जना उपमेयरका श्रीमानले नै बालिका अपहरण गरेको आरोप लागेको छ।
महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामीले आफ्नै छिमेकी बालिकाको अपहरण गरेको आरोप पीडित पक्षले लगाएको छ।
महोत्तरी प्रहरीका अनुसार बालिका गामीको घरको शौचालयमा राखेको अवस्थामा फेला परेको थियो।
बुधबार साँझ ६ बजेबाट बेपत्ता भएकी उनलाई प्रहरीले केही बेरमा उद्धार गरेको थियो।
गामीको विषयमा प्रहरीलाई जानकारी भएपनि पक्राउ नगरेको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। आज जलेश्वर बर्दिवास सडक खण्डमा उनीहरुले प्रदर्शन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गामीको खोजी भइरहेको छ।
यता हुलाकी न्यूजको सम्पर्कमा आएका गामीले आफू दोषी भए कारवाही भोग्न तयार रहेको बताएका छन्।
‘म घर बाहिर थिएँ। मेरो श्रीमति घर मै थिइन्। मेरो घर पर्खालको पछाडिबाट गएर त्यो बालिकालाई मेरो ट्वाइलेटमा राखेको थियो। र, मेरो घर बाहिर आएर अपहरण भएको भन्दै हल्ला गरिएको थियो।’ गामीले भने, ‘अपहरणको हल्ला भएको २० मिनेटमै प्रहरी आयो। र, डाइरेक्ट मेरो घरको बाहिरको ट्वाइलेटबाट प्रहरीले बालिकलाई निकालेर लग्यो।’
आपसी विवादका कारण आफूहरुलाई फसाउने प्रयास भएको उनले बताए। पीडित भनिएका पक्षका आफन्तबीच विवाद जारी रहेको र त्यसमा आफूले एक पक्षलाई सहयोग गरेकोले फसाउने प्रयास भएको गामीको दाबी छ।
‘सुरुवा अपहरणको हल्ला फैलाइयो, आज बलात्कार प्रयासको हल्ला फैलाइएको छ।’ गामीले भने,‘त्यो बालिकाको मुख सारीले बाँधिएको भनिएको छ। त्यो सारीमा हाथको निसान वा कुनै प्रमाण होला कसले बाध्यो भनेर। म दोषी भए कारवाही भोग्न तयार छु।’