
हुलाकी न्यूज, काठमाडौंः आन्दोलनरत उखु किसानको समर्थनमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम र उद्योगिक नगरी बीरगंजमा प्रदर्शन भएको छ।
चिनी मिलका मालिकहरुबाट भुक्तानी नपाएका किसानहरु काठमाडौंमा सोमबारदेखि आन्दोलनरत छन्। गत वर्ष सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यन्वयन र मुक्तानीको माग गर्दै काठमाडौंमा किसानहरुले धर्ना र प्रदर्शन जारी राखेका छन्।
उक्त किसानहरुको समर्थनमा बीरगंजमा युवाहरुले प्रदर्शन गरेको युवा अभियानी ओमप्रकाश सर्राफले जनाएका छन्। किसानहरुको माग पुरा गर्न भन्दै उनीहरुले बीरगंज घण्टा घर अगाडि प्रदर्शन गरेका हुन्।
यता जनकपुरधाममा पनि युवाहरुले प्रदर्शन गरेका छन्। जनता समाजवादी पार्टी निकट युवाहरुले जनकपुरधामको जनक चौकमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रदर्शन गरेको युवा नेता प्रशान्त झाले जानकारी दिए।




