
हुलाकी न्यूज, जनकपुरधामः सार्वजनिक जग्गामा विद्यालय स्थापना गर्न खोज्दा एक युवक कुटिएका छन्। धनुषा जिल्लाको सबैला नगरपालिका वडा १० गेरुवाही टोलमा रहेको सार्वजनिक जग्गामा विद्यालय स्थापनाका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेका रामबाबु रायलाई सामूहिक रुपमा कुटपिट गरिएको छ।
उक्त सार्वजनिक जग्गा कब्जा गरेका गंगा प्रसाद राय, ब्रम्हदेव राय, शिवशंकर राय, उपेन्द्र राय, उपेन्द्र राय, राम प्रसाद रायलगायतले आफूलाई कुटपिट गरेको रामबाबु रायले जनाएका छन्।
रामबाबुले उक्त सार्वजनिक जग्गामा सार्वजनिक विद्यालय स्थापनाका लागि जग्गाको सम्पूर्ण विवरण तयार पारेर प्रक्रिया पुरा गरेको बताए। नगरपालिकामा पनि प्रक्रिया अगाडि बढेको जानकारी दिदै रामबाबुले हुलाकी न्यूजलाई भने,‘सार्वजनिक विद्यालय स्थापनाका लागि सबै कुरा गरिसकेको छु। अब भवन निर्माणका लागि उक्त जग्गामा रहेको रुख कट्ने काम गराउन जाँदा उनीहरुले मलाई कुटपिट गरे।’
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रामबाबुले आफूलाई प्रहरीले पनि हिरासतमा राखेको सुनाए।
यता इलका प्रहरी कार्यालय सबैलाका प्रमुख रामकुमार यादवका अनुसार सार्वजनिक जग्गामा रहेको रुख काट्ने विषयमा विवाद भएको हो। जसक्रममा रामबाबु राय र अर्को पक्षको एक जना महिलासमेत घाइते भएकी छिन्।



