हुलाकी न्यूज, काठमाडौं :
नेपाल र चीनले संयुक्त रुपमा मापन गरेको सगरमाथाको उचाई हालसम्म सार्वजनिक भएको छैन। मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको हो। नापी विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान पनि गर्नेछ।
मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाण्डूले नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए।

उक्त सहमति पछि नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो।

मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ मापनसँग सम्बन्धित रहेका कर्मचारीको योगदानको उचित कदर गर्ने र सर्वेक्षकहरूले सङ्कलन गरेका अभिलेखलाई सुरक्षित राख्ने निर्णय गरेको थियो।

नेपालको नापि विभागले एउटा अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गर्दै एकल रूपमा सन् २०१७ बाट सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको थियो।

नेपालको तर्फबाट पहिलो पटक अघि बढाइएको उक्त अभियानलाई राष्ट्रिय गौरवसँग जोडिएको थियो र विश्वलाई सगरमाथाको उचाइबारे सूचना दिनु आफ्नो उद्देश्य भएको नापी विभागले बताएको थियो।

विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ मा गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाउँदै नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशङ्का गरेका बेला उक्त अभियान थालिएको थियो।
केही विज्ञहरूले भूकम्पका कारण सगरमाथा भास्सिएको हुनसक्ने टिप्पणी गरेका थिए। सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो।

सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन्।

नेपाल र चीनको सीमाना छुट्याउने विश्वको अग्लो हिमालको वास्तविक उचाइलाई लिएर काठमाण्डू र बेइजिङबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो।

चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियाे।

चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो। (बीबीसीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.