
हुलाकी न्यूज, लहान(सिरहा): झारफुकको बहानामा बलात्कार गरेको भन्दै सिरहाका एक मौलाना पक्राउ परेका छन्।
मिर्चैया नगरपालिका १० घर भई हाल लहान १० ग्रामीण चौकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनलाई प्रहरीले पक्राउ गरेको हो।
मौलानासँग झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको युवतीले बताएकी छिन्।
बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ। मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् ।
पीडितकी आफन्तहरू उनको घर पुगेर केरकार गर्नुका साथै मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्री जानकारी दिएका छन्।
डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद थप गरेको छ।