हुलाकी न्यूज,काठमाडौँ : चीनले चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने योजना बनाएको छ।

सोही योजनाअनुसार चाङ–५ नामको यान मंगलबार चन्द्रमातर्फ प्रस्थान गर्नेछ।

चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको बीबीसीले जनाएको छ।

पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए। सन् १९७६ मा अन्तिमपटक सोभियत संघले पठाएको लुना २४ ले पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो।

हालको योजना सफल भए पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने चीन तेस्रो देश हुनेछ।

अन्तरिक्ष यानको नाम ‘चाङ’ए’ प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो। त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ।

उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना संकलनको प्रयास गर्ने बताइएको छ।

यसअघि सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो। हालको चिनियाँ मिसन मानवरहित हो।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.