हुलाकी न्यूज, काठमाडौँ : किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मङ्गलबार मनाइँदै छ। फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ।
यस अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा फाल्गुनन्द जन्मजयन्तीले प्रदान गरोस् भन्ने कामना गरेकी छन्।
विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन।
वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए ।
फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ।
फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।




