
हुलाकी न्यूज, सप्तरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन गरेको प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बताएका छन्।
सप्तरी जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री सोनलले माओवादीद्धारा उठाइएको जातीय मुक्तिको कुरा पनि सत्तामा पुगेपछि विसर्जन भएको दाबी गरे।
‘माओवादीले उठाएको जातीय मुक्तिको कुरा उनीहरु सत्तामा पुगेपछि विसर्जन गरे। नेकपाबाट अब मुक्ति सम्भव छैन’ मन्त्री सोनलले भने,‘नेपाली कांग्रेस र नेकपा यी दुबै पार्टीबाट जनताको समस्या समाधान हुँदैन। अब आफ्नो लडाई आफै लड्नु पर्छ।’
मुक्तिका लागि जनता समाजवादी पार्टी(जसपा) उपयुक्त रहेको मन्त्री सोनलले बताए।
नेकपाको आन्तरिक विवादका कारण देश अनिर्णयको बन्दी बनेको आरोप पनि मन्त्री सोनलले लगाए।
संघीय सरकारको असहयोगका कारण प्रदेश २ सरकारले पनि जनताको अपेक्षा बमोजिम धेरै काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री सोनलले भने,‘संघीय सरकारले बजेटमा, कर्मचारीमा असहयोग गर्दैछ। त्यती असहयोगका बाबजुद पनि हामीले विकास निर्माणको क्षेत्रमा राम्रो काम गरेका छौं।’
मन्त्री सोनलले सप्तरीमा निर्माण भइरहेका विकास निर्माणका आयोजनाहरुको पनि अनुगमन गरेका छन्।
थारु संग्राहलय विकासका लागि ध्यानाकषर्ण

सप्तरी जिल्लामा रहेको थारु संग्राहलय विकासका लागि मन्त्री सोनलको ध्यानाकषर्ण गराइएको छ।
सप्तरीका थारु अगुवाहरुले संग्राहलयको विकास गर्न आवश्यक रहेकोले पूर्वाधार निर्माणमा सहयोग गर्न ज्ञापन पत्र बुझाएका छन्।
जवाफमा मन्त्री सोनलले थारुहरुको संस्कृति र पहिचानको रक्षाका लागि आफूले सम्पूर्ण शक्ति लगाउने बताए। निकट भविष्यमा थारु संग्राहलयको विकास हुने मन्त्री सोनलले प्रतिबद्धता व्यक्त गरे।



