हुलाकी न्यूज, काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आज समापन हुँदै छ। आज कोजाग्रत पूर्णिमामा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने प्रचलन छ।
जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ।
टाढ-टाढाबाट आवतजावत गर्नुपर्नेहरुले आजैसम्म मान्यजनका हातबाट टीकाजमरा थाप्ने गर्छन्। यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु गरिन्छ।