यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले जीत हात पारेको छ। प्रतियोगिताबाट बाहिरिसकेको चेन्नईले पाँचौं जीत दर्ता गर्ने क्रममा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो।
कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा ४ विकेटको क्षतिमा भेट्टाएको हो। चेन्नईको जीतमा ओपनर ऋतुराज गाइकवाडले ७२ रन बनाए भने अम्बाती रायुडुले ३८ रनको योगदान दिए। अन्त्यतिर रविन्द्र जडेजाले तुफानी पारी खेल्दै चेन्नईलाई जीत दिलाए । जडेजाले केवल ११ बलमा ३१ रन बनाए जसमा २ चौका र ३ छक्का सामेल थियो। कोलकाताका प्याट कमिन्स र वरुण चक्रवर्तीले २ २ विकेट हात पारे।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । ओपनिङ आएका नितिश रानाले सर्वाधिक ८७ रन बनाए । त्यसैगरी शुभमन गिलले २६ र दिनेश कार्तिकले २१ रनको योगदान दिए । चेन्नईका लूगी एंगिडीले २ तथा रविन्द्र जडेजा, मिचेल सेन्टनर र कर्ण शर्माले १-१ विकेट हात पारे ।
जीतसँगै १३ खेलबाट १० अंक बटुलेको चेन्नई नेटरनरेटका आधारमा राजस्थान र हैदराबादभन्दा पछि पर्दै अंकतालिकाको पुछारमै यथावत् छ भने पराजित कोलकाता १२ अंकसहित पाँचौं स्थानमा यथावत् छ । यस हारसँगै कोलकाताको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।



