हुलाकी न्यूज, काठमाडौं : दसैँ, तिहार र छठ जस्ता चाडबाडमा उपभोक्ताहरु बढी ठगिने गरेका छन्।
यस पटक झन् बढी समयको लकडाउनका कारण एक्सपायर भएका सामानहरुको पनि बिगबिगी बजारमा रहेको छ।
चाडबाडमा बजारमा बिग्रेका कमसल र मिसावटयुक्त सामानको बिगबिगी रहने गरेको सरकारी अधिकारीहरू नै स्वीकार्छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी भन्छन्, “चाडबाडका बेला सामान पनि धेरै बिक्ने तथा मिसावट र कमसल सामग्रीको बिगबिगी रहने गरेकैले हामीले बजार अनुगमन पनि यसैबेला तीव्र बनाउँछौँ।”
सुवेदी कमसल सामग्री पाइएमा पैसा नलाग्ने टोल फ्री नम्बर ११३७ मा फोन गरेमा आफूहरू कारबाही गर्न तत्काल आउने बताउँछन्।
उपभोक्ता आफै कमसल सामान किन्नबाट जोगिने उपाय के छन्?
खाद्य तथा गुणस्तर विभागकी पूर्वमहानिर्देशक जीवनप्रभा लामा भन्छिन्, “चम्किला देखिने मिठाइ नकिन्ने किनभने तिनमा या अखाद्य रङ्ग मिसाइएको हुनसक्छ या खाद्य रङ्ग भए पनि आवश्यकभन्दा बढी मात्रा हालिएको हुन सक्छ।”
“सागपात किन्दा अलिअलि किरा लागेको किन्ने त्यस्तोमा कम विषादी हालेको हुन्छ।”
जती लामो दुरी पार गरेर खाद्यन्न आउँछ त्यती धेरै समस्या हुने गरेको छ।
विज्ञहरुले बजारबाट ठगिन खाद्य बस्तुको एक्सपायरी मिति र प्याकिङ्ग गरिएको सामान गरिद गर्न सुझाव दिन्छन्। स्थानीय सामान खरिद गर्दा ठगिने सम्भावना कम रहेको उनीहरुको बुझाई छ।
(बीबीसी नेपालीको इनपुटका साथ)