हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पद धरापमा परेको छ। राजपा र समाजवादी पार्टीबीच एकीकरण भएपछि पहिलो पटक बसेको संसदीय दलको संयुक्त बैठकमा बोलेका २४ सांसद मध्ये १९ जना सांसदले मुख्यमन्त्री राउतको विरोध गरेका छन्।
जनता समाजवादी पार्टीका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा विहीबार मुख्यमन्त्री कार्यालयमा बसेको संसदीय दलको बैठक मुख्यमन्त्री राउतको चर्को विरोध भएको थियो।
बैठकमा मुख्यमन्त्री राउतसँगै सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायले छोरालाई नै राखेर मन्त्रालय चलाएको भन्दै सांसदहरुले आक्रोस व्यक्त गरेका थिए।
बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम गर्न चुनौतीको सामना गरेको र आफ्नो कामको व्याख्या गर्दै मन्त्री र कर्मचारीले आफूलाई नटेरेको आरोप लगाएका थिए।
यसैबीच, तत्कालीन राजपा र समाजवादी पार्टीको अलगअलग संसदीय दलका नेता रहेकाले पार्टी समायोजन पछि नयाँ संसदीय दलका लागि विधान बनाउन पाँच सदस्यीय विधायन समिति गठन गरिएको छ। समितिमा प्रदेशसभा सदस्यहरू मनिष सुमन, उपेन्द्र महतो, रामअशिष यादव, परमेश्वर साह र रानी शर्मा तिवारी छिन्। समितिलाई एक साताको समय दिइए पनि शुक्रबारसम्म विधानको ढाँचा बुझाउने तयारी रहेको छ।
समितिका एक सदस्यका अनुसार शुक्रबार सम्म विधानको ढाँचा बुझाएर कार्तिक महिना भित्र संसदीय दलको नयाँ नेता चयन हुनेछ। संसदीय दलको नेता नै मुख्यमन्त्री हुने गरेका छन्।
आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवका अनुसार दसैं पछि नै संसदीय दलको चुनावी प्रक्रिया सुरु हुन सक्नेछ। मन्त्री यादवका अनुसार कार्तिक भित्रै प्रदेशले नयाँ मुख्यमन्त्री पाउन सक्नेछ।
जसपा प्रदेश २ को संसदीय संसदीय दलका नेताका लागि मुख्यमन्त्री राउतसँगै भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसदहरू उपेन्द्र महतो, रामअशिष यादव, मनिष सुमन दाबी गर्दै आएका छन्।