हुलाकी न्यूज, काठमाडौं : कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने भन्दै लोकसेवा आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध रिट निवेदन परेको हो।
अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न माग गरिएको छ।
लोकसेवा आयोगलाई विपक्षी बनाई दर्ता गरिएको निवेदनमाथि बिहीवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ। लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिमका कारण गत चैतमा रोकिएका विभिन्न तहका परीक्षाहरु सुरु गर्न सूचना निकालेको थियो । आगामी कार्तिक १८ गतेदेखि शाखा अधिकृत, नासुका लागि परीक्षा कार्यक्रम तोकिएर सूचना निस्किएको छ ।
परीक्षा सञ्चालनका लागि लोकसेवाले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा(सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको थियो । मापदण्डको बुँदा नम्बर ८ मा ‘परीक्षार्थी आफू कोरोना संक्रमण भएरनभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित भएमा परीक्षा केन्द्रमा प्रवेश गर्न नहुने’ भन्ने व्यवस्था छ ।