हुलाकी न्यूज, गौर(रौतहट): नेकपा प्रदेश २ का अध्यक्ष एवं सांसद प्रभु साहले गुणस्तरीय निर्माण कार्य सम्बन्धीत पक्षहरुलाई निर्देशन दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका साहले रौतहटमा जारी शहरी विकास लगायतका पूर्वाधार निर्माण कार्यको अनुगमन गर्दै निर्माणमा गुणस्तरीयताको ध्यान दिन निर्देशन दिएका हुन्।
नेपाल सरकारका विभिन्न मन्त्रालय, खासगरी सहरी विकास मन्त्रालयबाट निर्माणाधिन परियोजनाको प्रगति बुझ्न सांसद साह जिल्लाको विभिन्न ठाउँमा पुगेका हुन्। जिल्लाको मौलापुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिकामा निर्माणाधीन सडक, नाला, भवनलगायतको पूर्वाधारको प्रगति बुझ्न पुगेका सांसद साहले निर्माण कार्यमा भएको ढिलाईप्रति आक्रोशित बनेका थिए।
सांसद साहले ठेक्केदारलाई गुणस्तरमा ध्यान दिन तथा समयमै काम सक्न निर्देशन दिएका हुन्। आफुले मिहिनेत गरेर परियोजना सुरु गराएको तर काममा ढिलाई हुँदा दुखी भएको प्रतिक्रिया दिए।
सांसद साहले भने, ‘स्थानीयकै संलग्नतामा डिपिआर गराएर, करोडौंको योजना गराएका हौं तर मुल ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा लगाएर कामको गतिलाई रोकिदिएको छ। पेटी ठेकेदाले चोर शैलीमा पैसा जोगाउन कमसल काम गर्ने गरेको छ। यो प्रवृत्ति रहुन्जेल विकास सम्भव छैन। यस्ता प्रवृतिलाई अन्त्य हुनुपर्छ।’
‘रौतहटका गाउँ गाउँमा सडक, नाला, पुललगायतका पूर्वाधार निर्माण गर्ने अभियान कसैले चाहदैमा रोकिदैन। तर यसका लागि जनताको सक्रियता जरुरी छ’ सांसद साहले भने, ‘यसका लागि गुणस्तरीय काम गर्न ठेकेदारलाई सबै पक्षले दबाब दिनुपर्छ ।’