हुलाकी न्यूज, काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
आइतबार नेकपाका १८ जना सांसदहरुले अविस्वासको प्रस्तामा हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन्। त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएको जनाइएको छ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा नेकपाका तर्फबाट पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन्।
मुख्यमन्त्री शाहीको काम कारवाही प्रभावकारी नभएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको हो।
कर्णाली प्रदेशसभामा पूर्वएमालेका २० र पूर्वमाओवादी केन्द्रका १३ जना सांसद छन्। कूल ४० सदस्यीय प्रदेशसभामा ३३ जना नेकपाका, छ जना कांग्रेस र एक जना राप्रपाका सांसद छन्।
कूल ३३ जनामा १८ जनाले अविश्वासको मत दर्ता गराएपछि संसदीय दलमा अब मुख्यमन्त्री स्पष्ट अल्पमतमा परेका छन्। अविश्वासको प्रस्ताव दर्ता गराउनेमा १५ जना पूर्वएमाले र तीन जना पूर्वमाओवादीका सांसद रहेका छन्।
पूर्व एमालेभित्र पनि केन्द्रमा केपी शर्मा ओली, माधवकुमार नेपालनिकट सांसदहरु एक ठाउँमा उभिएका छन् भने पूर्वमाओवादीभित्रै पनि विभाजन देखिएको छ। संसदीय दलमा अल्पमतमा परिसकेका मुख्यमन्त्रीलाई अब प्रदेशसभामा पनि अल्पमतमा पार्न तीन जना मात्र आवश्यक पर्छ। मन्त्रीहरुको साथ पाए मुख्यमन्त्रीको बिपक्षमा २१ जना पनि पुग्ने निश्चित जस्तै छ।