हुलाकी न्यूज, काठमाडौं :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको लापरवाहीका कारण डेरामा बस्नेहरुले कोरोना संक्रमण लुकाएर बस्नु पर्ने अवस्था रहेको जनाएको छ।

नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रेस विज्ञप्ति जारी गर्दै डेरामा बस्नेहरुको अवस्थाका बारे जानकारी गराएका हुन्।

कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको दाबी गर्दै डा.महतले भनेका छन्, ‘संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेसनको व्यवस्था गर्नु त परै जावस् जो परिक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेसनको व्यवस्था सरकारले गरेको छैन।’

काठमाडौं उपत्यकामा आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था नभएको उनले बताएका छन्।

‘जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ।’ डा.महतले भनेका छन्, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परिक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ। जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको छ।’

संक्रमण लुकाएर बस्नु पर्दा संक्रमण झन बढ्ने खतराप्रति सरकार पुरै उदासिन रहेको कांग्रेसको भनाई छ। मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितहरुलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न कांग्रेसले माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.