
हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया सामूहिक बलात्कार पीडित किशोरीलाई धम्की र प्रलोभन दिनेहरुलाई प्रहरीले खोजी सुरु गरेको छ।
बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिएको आरोप लागेकालाई पक्राउ गर्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुवा सत्यनरायण यादवसहितले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिँदै आएको पीडितकी आमाले बताएकी छिन्।
गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुवा र आमालाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी खटाइएको प्रहरी उपरीक्षक बस्नेतले जनाएका हुन्।
धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे ४ जना युवाले सामूहिक बलात्कार गरेका थिए।




#Justice_For_Sabari_Sada_my_lord