हुलाकी न्युजः प्रदेश नं.२का मुख्यमन्त्री लालबाबु राउत कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेसुहरूलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा आज मेडिकल सुपरिटेन्डेन्टहरूसहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले यो निर्देशन दिनुभएको हो । बैठकमा अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्नुपर्ने सुधारबारे छलफल भएको छ । मुख्यमन्त्री राउत अस्पतालको सुधारका लागि प्रदेश सरकार स्थापनाकालदेखि नै प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको भन्दै त्यसैअनुसार प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

मुख्यमन्त्री राउत गत आर्थिक वर्षमा प्रदेश सरकार अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको भन्दै चालू आर्थिक वर्षमा रकमको सत प्रतिशत सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँ अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साह अस्पतालहरुको सुधारमा प्रदेश सरकार हरसम्भव लगानी गर्न तयार रहेको भन्दै कोरोना महामारीनियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संघीय सांसद डा. सुरेन्द्र यादव अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिनु भयो । त्यसैगरि जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह प्रादेशिक ल्याबको आफनै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफु प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलंगवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका मेसुहरूको सहभागिता थियो । उनीहरू अस्पतालको वर्तमान अवस्था र अगामी दिनमा गर्नु पर्ने सुधारहरूबारे अवगत गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.