हुलाकी न्यूज, जनकपुरधाम : बीबीसी नेपाली सेवाका संवाददाता एवं जनकपुर टुडेका सम्पादक बृज कुमार यादवले लक्ष्मीनियाँ माई मन्दिरको जग्गा पनि कब्जा गरेको खुलेको छ।
रसिक विहारी भगवान मन्दिर जनकपुरधामको जग्गा कब्जा गर्न खोजेका बृज कुमारले आफ्नै गाउँमा रहेको लक्ष्मीनियाँ माईको मन्दिरको जग्गा कब्जा गरेका हुन्।
बृज कुमारले मन्दिरको जग्गा कब्जा गरी आफ्नो जमिनमा जान निजी बाटो बनाएको स्थानीय बृद्ध रामप्रताप यादव बताउँछन्। मन्दिरको जग्गा मिचेको स्थानीय समाजको कुरा पनि बृजकुमारले नसुने यादवको भनाई छ।
स्थानीय चन्द्रशेखर मिश्रले भने,‘लक्ष्मीनियाँ माईको मन्दिरको परिक्रमा गर्न मन्दिर र व्यक्तिहरुको जग्गाबाट बाटो बनाउने सहमति भएको थियो। तर, पत्रकार बृज कुमारले रातरात मन्दिरको जग्गा कब्जा गरी बाटो बनाउन लगाए।’
बाटो बनाउन गठन भएको उपभोक्ता समितिलाई घुस दिएर बृज कुमारले मन्दिरको जमिन कब्जा गरेको मिश्रको आरोप छ।
‘बृज कुमारले मन्दिरको जग्गा कब्जा गरेर आफ्नो निजी बाटो बनाउन खोज्दा हामीले विरोध गर्यौं। हामीलाई गाली गलौच गरेका थिए। हामीले काम रोक्न जाँदा हामीलाई धपाइएको थियो।’ स्थानीय चैता सदा मुसहर बताउँछन्।
लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गंगा साहका अनुसार बृज कुमारले गैर कानुनी तरिकाले मन्दिरको जग्गा कब्जा गरेका छन्।
‘मन्दिरको जग्गा बृजकुमारले गैर कानुनी तरिकाले कब्जा गरे। २०२४ सालको नक्सामा बाटो छैन तर अहिलेको नक्सामा संकास्पद रुपमा बाटो देखिएको छ। स्थानीय निकायबाट सिफारिस भएको छैन तर बाटो देखिन्छ।’ वडा अध्यक्ष साहले भने,‘हामीले कारवाहीका लागि पत्राचार कयौं पटक गरेका छौं तर बृज कुमारलाई कारवाही भएको छैन। न मन्दिरको जग्गा फिर्ता भएको छ।’
वडा अध्यक्ष साहका अनुसार लक्ष्मीनियाँ माई मन्दिरको करिब ३ देखि ४ कठ्ठा जग्गा बृज कुमारले कब्जा गरेका हुन्।
स्थानीय बृद्ध रामप्रताप यादवले लक्ष्मीनियाँ माई मन्दिरको जग्गा रक्षाका लागि प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय हुन आग्रह गरे। उनले भने, ‘मन्दिरको जग्गा फिर्ताका लागि पूर्ण प्रयास गर्छु। मुद्दा मामिलामा जानु परे जान्छु। सरकारको ध्यान पनि जाओस्।’
जनकपुरधामस्थित रसिक विहारी भगवान मन्दिरमा मध्यरातमा तोडफोड गरी जग्गा कब्जा गर्न खोजेका बृज कुमारको जनकपुरवासीहरुले प्रतिकार गरेपछि अहिले विवाद छलफलको क्रममा रहेको छ ।
[…] […]
[…] […]