हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश नम्बर दुईमा दलितहरुमाथि भएको हत्या–हिंसाको घटनामा प्रदेश सरकारले छानविन बनाउँदै झारा टार्ने गरेको छ। प्रहरी हिरासतमा मारिएका सम्भू सदा, प्रादेशिक अस्पतालको लापरवाहीले मरेका राजू सदालगायतको घटनामा प्रदेश सरकार र मातहतका निकायहरुले छानविन गरेपनि प्रतिवेदन सार्वजनिक हुने गरेको छैन।
मुख्यन्यायाधिवक्ता, प्रदेशसभा तथा स्थानीय प्रशासनले पनि छानविन गरेपनि प्रतिवेदन सार्वजनिक भएको छैन। त्यसतर्फ पनि प्रदेश सरकारको ध्यान छैन। तर, मुख्यमन्त्री लालबाबु राउतले पुनः अर्को छानविन समिति गठन गरेका छन्।
रौतहटका विजय महराको प्रकरणमा दलितहरु पुनः आन्दोलित भएपछि मुख्यमन्त्री राउतले बुधबार छानविन समिति गठन गरेका छन्। समितिमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, तीन जना प्रदेश सभा सदस्य रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
यसैगरी, दलित सशक्तिकरण ऐनको उच्च स्तरीय समितिको पहिलो बैठक पनि बुधबार भएको छ।
यसैगरी, कोभिडमा भोकको कारणले मृत्यु भएका मलर सदाको परिवारलाई एक लाख ५० हजार, विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख पचास हजार र रौतटहमा हत्या भएका निरन्जन राम तथा मित्रा देवी बैठाको परिवारलाई समेत राहत उपलब्ध गराउने निर्णय पनि भएको मुख्यमन्त्री राउतले जनाएका छन्।