हुलाकी न्यूज, काठमाडौं : नेपालमा लकडाउनको अवधिमा प्रत्येक दिन १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष ०७५र/०७६ मा पाँच हजार सात सय ५४ वटा आत्महत्याका घटना भएको प्रहरी तथ्याङ्कमा छ। चालु आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउनका बेलामा आत्महत्या ह्वातै बढेको छ।
प्रहरी तथ्यांक अनुसार गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा ३ हजार ५ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ भने लकडाउनको अवधिमा मात्रै १५ सयभन्दा बढीले आत्महत्या गरिसकेका छन्।
महामारीको त्रास, लकडाउन, आर्थिक संकटदेखि महामारीले सिर्जना गरेका अन्य यावत संकट नै आत्महत्याका कारण भए पनि मुख्यगरी आर्थिक कारण नै मानिसले आत्महत्या गर्ने गरेको डाक्टरहरु बताउँछन्। आर्थिक रुपमा विभिन्न गरिबहरुले नै बढी आत्महत्या गरेको उनीहरुको बुझाई छ।
प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिको असार १७ गतेको बैठकले लकडाउनको समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चार बुँदे निर्देशनसमेत दिइसकेको छ।
नेपालमा औसतमा दैनिक १६ जनाको दरले आत्महत्या गर्ने गरेको तथा आत्महत्या गर्नेमा बालबालिका र आर्थिक रुपमा सक्रिय उमेरसमूहका मानिस भएको हुँदा रोकथामका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको छ।
फाइल फोटो