काठमाडौं, ५ जेठ । नेपालमा थप ५३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज बाँके, मोरङ, गुल्मी, धनुषा, दाङ, रौतहट र धादिङका गरी ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँकेका ४७ जना, मोरङका एक जना, गुल्मीका एक जना, धनुषाका एक जना, रौतहटका १ जना, दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेका संक्रमितमध्ये ४६ जना पुरुष र एक महिला छन् । उनीहरूको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्यत्रका थप ६ जना संक्रमित सबै पुरूष हुन् । मोरङको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट मोरङका संक्रमित पत्ता लागेका हुन् ।

त्यस्तै भैरहवाको प्रयोगशालाबाट गुल्मीका र धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणबाट धनुषा, रौतहट, दाङ र धादिङका संक्रमित पत्ता लागेका हुन् । संक्रमितमध्ये २९८ जना पुरूष र ५९ जना महिला रहेका छन् ।

३६ जना उपचार पश्चात् कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोक र बाँकेमा गरी एक महिला र एक पुरूषको मृत्यु भएको छ । कर्णाली बाहेक नेपालका ६ प्रदेशका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश दुईका सबै जिल्ला र प्रदेश पाँचको तराईमा पर्ने सबै जिल्लाका संक्रमित भेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.