
प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो
काठमाडौं, ३ जेठ ।
प्रदेश २ को आठवटै जिल्लामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । आज सिरहामा एक जना कोरोना भाइरसबाट संक्रमित रहेको पुष्टि भएसँगै प्रदेश २ का आठवटै जिल्लामा संक्रमित फेला परेका हुन् । यसअघि सात वटा जिल्लामा संक्रमित फेला परेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहाको सखुवा वडा नम्बर १९ मा ३० वर्षीय पुरुष कोरोना संक्रमित रहेको जनाएको छ । यद्यपि, मन्त्रालयले उल्लेख गरेको ‘सखुवा वडा नम्बर १९’ भन्ने ठेगाना त्रुटिपूर्ण देखिएको छ । त्यस्तै, प्रदेश २ को पर्सामा पनि थप दुई जना र सर्लाहीमा १ जना कोरोना संक्रमित देखिएका छन् ।
योसँगै पर्सामा ९१, बारा ३, रौतहटमा ३, सर्लाहीमा ३, महोत्तरी २, धनुषा ३ र सिरहामा १ जना कोरोना संक्रमित भएका छन् । सिरहामा १ र पर्सामा २ समेत गरी आज नेपालमा थप ६ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष रहेका छन् । यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।




