पर्सा, १ जेठ । प्रदेश २ मा कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश २ सरकारको पूर्वतयारी फितलो देखिएको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पताललाई लेभल २ कोभिड १९ विशेष अस्पताल घोषणा गरिए पनि त्यसअनुसारको तयारी हुन नसक्दा अहिले संक्रमित राख्ने ठाउँको अभाव भएको हो । नारायणी अस्पतालमा जम्मा ५० बेडको मात्र आइसोलेशन वार्ड तयारी पारिएको थियो ।

तर, संक्रमित ९० पुगेसँगै बेडको अभाव भएपछि स्थानीय सिद्धार्थ स्कूलमा अन्य संक्रमितहरूलाई सारिएको छ । अस्पतालमा राख्ने ठाउँ नभएपछि हतारहतार सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा संक्रमितहरूलाई राखिएको छ ।

वीरगञ्जमा एक दर्जनभन्दा बढी अस्पतालहरू हुँदहुँदै पनि मात्र नारायणी अस्पतालमा ५० बेडको आइसोलेशन वार्ड बनाइएको थियो ।

अहिले संक्रमितहरूलाई भर्ना गर्ने ठाउँ नभएपछि वीरगन्जकै गण्डक अस्पतालमा ६० वटा आइसोलेसन बेड तयार गर्ने काम भइरहेको छ । दुई–तीन दिनमै आइसोलेसन तयार गर्ने गरी काम अघि बढेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले जानकारी दिए ।

उनले अहिले अस्पतालमा सीसी क्यामेरा राख्ने काम भइरहेको बताए । वीरगञ्जमा पर्साका ८२, बाराका ३, रौतहटका ३ र सर्लाहीका २ जना उपचाररत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.