काठमाडौं, ३१ बैशाख । नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो । साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

काठमाडौं, भक्तपुर, धनुषा, महोत्तरीसहित जिल्लामा संक्रमित भेटिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सामा २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । महोत्तरीमा कोरोना संक्रमितमध्ये एक जलेश्वरका र अर्को बलवाका रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

त्यस्तै, धनुषामा लालगढमा एक महिला र जनकपुरमा एक पुरुषमा कोरोनाका संक्रमण देखिएको छ । त्यसैगरी भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बारा र पर्सामा निषेधाज्ञा
कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि मङ्गलवार राति ८ बजेदेखि जेष्ठ ५ गतेसम्म पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

यो निर्णय स्थानीय प्रशासन ऐन २०२८ अनुसार नेपाली सेनालाई परिचालन गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायका अनुसार बाराका भनिएका दिउँसो पुष्टि भएका सङ्क्रमित पर्सामा बस्दै आएका व्यक्ति हुन् । थप सङ्क्रमण देखिएपछि बारामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका र छिपहरमाई गाँउपालिकाका रहेका छन् । छिपहरमाई गाउँपालिकाका सङ्क्रमितहरू लकडाउनकै समयमा १७ दिनअघि बागलुङबाट बसमा वीरगन्ज आएका थिए ।

उक्त बसमा ४२ जना आएका थिए र ती सबैलाई छिपहरमाई गाउँपालिकाको क्वारन्टीनमा राखिएको थियो । तीमध्ये सङ्क्रमण देखिएका १४ जनामध्ये एक भारतीय नागरिक रहेको छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

अब प्रदेश नं २ मा भेटिएका सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ । यो अहिलेसम्म सबै प्रदेशमा देखिएकोमध्ये सर्वाधिक सङ्ख्या हो । प्रदेश ५ मा ७० सङ्क्रमित छन् ।

कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैमा पनि कोभिड १९ पुष्टि भएको छैन । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभरि १२,७८५ जना क्वारन्टीनमा र २२८ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिएका थिए । मन्त्रालयको तथ्याङ्कमा मङ्गलवार अपराह्णसम्म पीसीआर विधिवाट १८,९६४ वटा परीक्षण भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.