
काठमाडौं, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले नेपाल–भारत सिमानामा काँडेतार वा पर्खाल लगाउनुपर्ने सुझाव दिएका छन् ।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले विभिन्न समस्या आइरहेकाले पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका हुन् ।
सीमा स्तम्भ भत्काइदिने, सार्ने, नेपाली भूमि मिच्ने काममा सीमा सुरक्षा बल नै संलग्न भएका घटनाले सार्वभौम छिमेकी राष्ट्रप्रति भारतको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको पनि नेता नेपालले बताए ।
आफ्नो देशको भूमिको रक्षा गर्ने सवालमा सबै नेपाली र राजनीतिक दलहरू एकजुट भएको बताउँदै नेपालले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग सरकारले कुरा गर्नुपर्ने बताए ।
नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने र त्यसको उदघाटन गर्ने भारतको काम अत्यन्त दुःखद र आपत्तिजनक भएको पनि उनको भनाइ छ । नेता नेपालले नेपालको पश्चिमको सिमाना लिम्पियाधुरासम्म हो भन्ने कुरा सबै दस्ताबेजहरूले प्रमाणित गर्ने पनि बताए ।
उनले सरकारले नेपालको नक्सा प्रकाशित गर्नै पर्नेमा जोड दिए । शिक्षा मन्त्रालयबाट पाठ्यपुस्तकमा नेपालको नक्सा प्रकाशित गर्ने कुराको सन्दर्भमा अनावश्यक आपत्ति जनाउने काम भएको भन्दै नेता नेपालले विरोध जनाए ।



