
काठमाडौं, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पु¥याएको भनेर विरोध भइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको संसदमा जवाफ दिने भएका छन् ।
साथै दलका शीर्ष नेताहरूले विशेष समय लिएर बोल्ने छन् । मन्त्रीले जवाफ दिने र शीर्ष नेताहरूले बोल्ने भएका कारण संसद सचिवालयले पहिलेको कार्यसूचीलाई छोट्याएको छ ।
यसअघि कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसलाई हटाएर संशोधित सूची सार्वजनिक गरिएको छ ।
संसद सचिवालयले पूर्वबजेटमाथि हुने छलफललाई भने यथावत् राखेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।



