
काठमाडौं, २७ वैशाख । नेपालमा थप सात जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरणअनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको हो । संक्रमित सात जनमध्ये ३ जना उदयपुर भुल्के, ३ जना कपिलवस्तु र बाँकी एक जना संक्रमित पर्सा छपकैया हुन् ।
संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । संक्रमित महिलाहरूको उमेर १८, ४५ र ६५ वर्ष रहेको छ । त्यस्तै पुरुषहरूमा भने एक जना १७ वर्षका र दुई जना १८ वर्षका युवक छन् ।
यसैगरी पर्साका संक्रमित पुरुष ६२ वर्षका हुन् । मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको छ । उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पतालमा भएका परीक्षणमा उनीहरू कोरोनामा भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।




