
काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभा, राष्ट्रियसभा र सचिवालयका कर्मचारीहरूमध्ये ४ सय ४१ जनाको कोरोना भाइरस रिपोर्ट निगेटिभ आएको छ ।
विहीबार संघीय सांसद र अन्यसहित ४ सय ४० जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । संसद सचिवालयका अनुसार १ सय ७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २ सय २९ जना कर्मचारी र मर्यादापालकसहित ४४० जनाको रिपोर्ट निगेटिभ आएको हो ।
विहीबार र शुक्रबार गरी जम्मा २७५ सांसदको ‘थ्रोट स्वाब’को नमूना सङ्कलन गरिएको थियो । संघीय संसद्को छैटौं अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्दैछ । तर, शुक्रबार मात्र स्वाब दिएका सांसद्हरू रिपोर्ट आउन बाँकी छ । त्यसैले रिपोर्ट नआएसम्म बैठकमा सहभागी हुन पाउने सम्भावना कम रहेको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालय अन्तर्गतका स्वास्थ्य इकाइका डा. पुष्प रिजालले शुक्रबार संकलन गरिएका सांसदहरुको रिर्पोट साँढे ४ बजेअघि आउन सम्भव नरहेको बताए । राष्ट्रिय सभाले शुक्रबार स्वाब संकलन गरिएकाहरुको रिपोर्ट आउन नसक्ने भएपछि उनीहरूलाई बैठकमा सहभागी नगराउने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाले यसबारे निर्णय गरिसकेको छैन । तीबाहेक ५४ जना सांसद भने अझै स्वाब संकलनमा छुटेका छन् ।



