
काठमाडौं, २६ वैशाख । सरकारले हालसम्म १० लाखभन्दा बढी जनालाई राहत उपलब्ध गराएको जनाएको छ ।
लकडाउनको अवधिमा स्थानीय तहहरूबाट १० लाख ४३ हजार जनाले राहत वितरण गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वातावरण तथा विपद् व्यवस्थापन शाखाका उपसचिव ऋषिराम आचार्यले जानकारी दिएका छन् ।
४ सय २१ स्थानीय तहले राहत वितरण गरेको पनि आचार्यले जनाएका छन् । एक परिवारले चामल ३० किलो, दाल ३ किलो, नुन दुई प्याकेट, खाने तेल दुई लिटर, साबुन ४ वटा र चिनी दुई किलो वितरण गर्ने मापदण्ड मन्त्रिपरिषदले बनाएको थियो ।
स्थानीय तहले मापदण्ड बमोजिम संघ, संस्था वा कुनै निकायमार्फत राहत संकलन गरी वितरण गर्नेछन् । मापदण्डअनुसार वडा कार्यालयले असांगठनिक क्षेत्रका श्रमिक तथा असहायको अभिलेखका आधारमा यो राहत पाउने व्यवस्था गरिएको थियो ।
पसलबाट ग्राहकको घरसम्म सामान ओसारपोसार गर्नेदेखि गिटी, बालुवा चालेर जीवीकोपार्जन गर्नेसम्मको अभिलेख तयार गर्नुपर्ने मादण्डमा उल्लेख छ ।



