
काठमाडौं, २६ वैशाख । संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ ।
लकडाउनकै बीच अपराह्न ४ बजे बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको छ । यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस र लकडाउनका कारण ढिलो गरी आह्वान भएको छ ।
सोही कारण संसद सचिवालयले नीति तथा कार्यक्रम आउनुअघि नै ‘प्रीबजेट’ छलफल गर्ने कार्यसूची बनाएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामाथिको प्रीबजेट छलफल वैशाख २८ गतेबाट सुरु हुने कार्यतालिका बनाइएको छ ।
बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ । जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि समय कम छ ।
यसअघि बजेटमाथिको छलफल हुनुअगावै सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रचलन थियो । तर यसपटक लकडाउनका नीति तथा कार्यक्रम ल्याइएको छैन ।
यसैबीच, अधिवेशन सुरु भएसँगै संसद भवनमा भीड लाग्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई समेत ध्यान दिइएको छ । संसदमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र नेताहरूका सहयोगीका साथै सञ्चारकर्मीसमेत एकै ठाउँ भीडभाड हुने हुँदा संक्रमणको जोखिम रहन्छ ।
यसै कुरालाई ध्यानमा राखी सरकारले सबै सांसदहरुको कोरोना भाइरस परीक्षण गरिरहेको छ । बिहीबार २ सय १२ सांसदसहित ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाइएको छ ।



