
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् ।
महामारीले भयावह रूप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरूका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन ।
तर, भयावह हुनसक्ने लक्षणहरू छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रूप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा र्पुयाएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।



