
हुलाकी न्यूज, काठमाडाै : जानकी मन्दिरको जग्गा हिनामिना र भ्रष्टाचार प्रकरण छानविनका लागि तीनवटा समितिले प्रतिवेदन बुझाई सकेको छ।
भोजराज आयोगको प्रतिवदेन र संसदीय समितिको प्रतिवेदनको बारम्बार चर्चा भएपनि त्यसमाथि कारवाही हुन सकेको छैन।
पछिल्लो करिब डेढ दशकदेखि जानकी मन्दिरको आयव्याय सार्वजनिक भएको छैन भने प्रत्येक पाँच वर्षमा हुनु पर्ने महन्थ नियुक्त करिब डेढ दशकदेखि हुन सकेको छैन।
एकै जना महन्थ अर्थात रामतपेश्वर दास र उनको परिवारले नै जानकी मन्दिर नियन्त्रणमा लिइ चलाइरहेको वरिष्ठ पत्रकार मनोज साह बताउँछन्।
बाह्रखरीबाट साभार
सुरेश यादव, जनकपुर : विश्वभरका हिन्दुहरूको आस्थाकेन्द्र जानकी मन्दिरमा धेरै समयदेखि भ्रष्टाचार व्याप्त भएको समाचार आइरहेकोमा अहिले आएर मन्दिरका महन्तले नै सो कुराको पुष्टि गरेका छन् । मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले सो मन्दिरको कारोबार सम्हाल्दै आएका रामरोशन दास भन्ने रोशन झाले मन्दिरलाई भ्रष्टाचारको केन्द्र बनाएको आरोप लगाएका छन् ।
महन्त दासका अनुसार रोशन झाले जानकी (राम) नवमी र रामजानकी विवाह महोत्सव कार्यक्रम सम्पन्न गर्नका लागि आएको करोडौंको सहयोग घोटाला गरेको र त्यसको कुनै पनि हिसाब आफूलाई नबुझाएको आरोप लगाएका छन् । नाताले आरोपित रोशन झा महन्त दासका आफ्नै भान्जा हुन् ।
१० वर्ष अघिसम्म घरगृहस्थीमै रहेका रोशनले मन्दिरमा प्रवेश गरेको केही वर्षमै सबै हिसाबकिताब आफ्नो नियन्त्रणमा लिए ।
सुरुमा रोशनप्रति महन्त दासको पनि विश्वास र भरोसा थियो । मनमनै उनले आफ्नो शेषपछि रोशनलाई नै उत्तराधिकारी अर्थात् महन्त बनाउनेसम्मको सोच बनाइसकेको पनि मन्दिर सम्बद्ध सुत्रले बताएको छ । महन्त दासको रोशनप्रतिको व्यवहारले उनलाई मन्दिरको अगुवाका रूपमा स्थापित गर्न थालेको प्रस्टै बुझिएको सो स्रोतले बताएको छ ।
“जानकी नवमी र रामजानकी विवाह महोत्सवकै नाउँमा करोडौं हिनामिना गर्न थालेपछि मलाई असह्य हुन थालेको हो,” मन्दिरका महन्त दासले मंगलबार एक स्थानीय रेडियोसँग कुरा गर्दै आफ्नो धारणा व्यक्त गरेका छन् । “करोडौं श्रद्धालुको आस्थाको केन्द्र र धर्मको मूलमै धर्मनाशीको प्रवेश भएपछि आफ्नै भान्जा भए पनि खुलेर विरोध नगरी नहुने भयो,” यसबारे जिज्ञासा राख्दा उनले खुलेरै बताए ।
महन्त दासका अनुसार २०७५ र २०७६ मा आयोजना भएको रामजानकी विवाह महोत्सवमा लागेको सबै खर्च जानकी मन्दिरप्रति विशेष आस्था राख्ने भारतका एक व्यवसायी पवन चौधरीले व्यहोरेका थिए ।
अघिल्लो वर्ष तामझाम बढी रहेको हुँदा भारतीय रुपैयाँ करिब डेढ करोड र पछिल्लो वर्ष करिब एक करोड व्यहोरेको कुरा व्यवसायी पवन चौधरीले फोनमा महन्तसँग स्वीकारेका छन् । महन्त र चौधरीको फोन वार्ताको भिडियोसमेत अहिले सार्वजनिक भैसकेको छ ।
यता, विवाह महोत्सव भव्य बनाउन प्रदेश २ सरकारले पनि जानकी मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
प्रदेश सरकार गठनपछि पहिलोपटक आयोजित विवाह महोत्सव २०७५ र दोस्रोपटक २०७६ मा गरी डेढ करोड रुपैयाँ औपचारिक रूपमै जानकी मन्दिरका नाममा निकासा भएको थियो । यस विषयमा प्रदेश सरकारले जनकपुरको पर्यटन प्रवद्र्धनका लागि विवाह महोत्सवलाई भव्य बनाउन अनुदान दिएको खबर सञ्चारमाध्यमलाई दिएको थियो ।
तर, प्रदेश सरकारबाट प्राप्त उक्त रकम वास्तवमा विवाह महोत्सवमा खर्च नभएको महन्त दासको दाबी छ ।
“भनेपछि प्रदेश सरकारले दिएको त्यो रकम कहाँ खर्च भयो त ?” दासले यो प्रश्नको उत्तर कतैबाट पाउन नसकिरहेको बताउँछन् । “रोशनलाई बारम्बार हिसाब देखाउन भन्छु केही बोल्दैन,” उनले भने, “प्रदेश सरकार र संघीय सरकारको संस्कृति मन्त्रालयले पनि रकम दिएको सुनेको छु । ती निकायलाई जानकी मन्दिरका नाममा कहिले–कहिले कति–कति रकम दिएको हो भनेर लिखित रूपमै जानकारी मागेको तीन महिना बितिसक्यो, अहिलेसम्म जवाफ पाउन सकेको छैन ।”
महन्त झाले आफ्नो भान्जाको मात्र पोल खोलेता पनि भ्रष्टाचारको जिम्मेवारीबाट आफै पनि उम्कन सक्दैनन् किनभने उनले समेत सो मन्दिरको आय–व्ययको विवरण गुठी संस्थानलाई बुझाएका छैनन् । अहिलेको झगडालाई भ्रष्टाचार नियन्त्रण गर्नभन्दा भागबण्डा नमिलेर बाहिर निस्केको भन्ने जानकारको भनाई छ ।
जानकी मन्दिरले हरेक वर्षको आय–व्यय सम्बन्धी लेखापरिक्षणगरी गुठी संस्थानको कार्यालयमा एक प्रति बुझाउनुपर्दछ । तर, अहिलेसम्म मन्दिरले यस्तो प्रतिवेदन बुझाएको गुठी कार्यालयसँग कुनै तथ्यांक छैन ।
गुठी संस्थान जनकपुर शाखाका प्रमुख वैकुण्ठ रेग्मी भन्छन्, “जानकी मन्दिरले अहिलेसम्म हिसाबकिताबको प्रतिवेदन गुठीलाई बुझाएकै छैन । गत मंसिरमा म जनकपुर कार्यालयमा हाजिर भएँ । त्यसयता दुई तीन पटक प्रतिवेदन बुझाउन ताकेदा गरिसकें । अहिलेसम्म पाएको छैन ।”



