
पर्सा, २१ वैशाख । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर वीरगञ्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका एक युवक फेरि बिरामी भएका छन् ।
रौतहटको ईशनाथ नगरपालिकाका–१९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई फेरि वीरगञ्ज ल्याइएको हो । नारायणी अस्पतालले तीन भारतीय र रौतहटतका ती युवक कोरोनामुक्त भएको भन्दै एक साताअघि डिस्चार्ज गरेको छ । १९ वर्षीय युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
लगातार तीन पटक रिपोर्ट निगेटिभ आएपछि वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए । घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरे ।
‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिए ।
ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।



