
काठमाडौं, २० वैशाख । कोरोना भाइरसको आशंकामा नेपालमा शनिबारसम्म १३ हजार ९८ वटा स्वाबको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआरबाट १३ हजार ९८ वटा परीक्षणको जानकारी दिएका छन् ।
त्यसैगरी आरडीटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १२ सय ५२ वटा नमूनाहरू निगेटिभ आएको देवकोटाले जनाएका छन् । नेपालमा अहिलेसम्म ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
जसमा ४९ पुरुष र १० महिला छन् । संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरमा सबभन्दा बढी कोरोना संक्रमित प्रदेश १ मा रहेका छन् भने दोश्रो सबभन्दा बढी प्रदेश २ मा रहेका छन् । जसअनुसार प्रदेश १ को विराटनगरमा ३१ र प्रदेश २ को वीरगञ्जमा ८ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १–१ जनाको उपचार भइरहेको छ । प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ आरडीटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडीटी परीक्षण भएका छन् ।



