
जनकपुरधाम, १७ वैशाख । लकडाउनको अवधिमा प्रदेश २ मा भारततर्फबाट एक हजार ६ सय २० जना नेपाल प्रवेश गरेका छन् ।
सामाजिक विकास मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले भारतबाट लुकीछिपी सबभन्दा बढी पर्सा जिल्लामा सर्वसाधारण प्रवेश गरेको जानकारी दिएका हुन् ।
प्रदेश सरकारले दिएको तथ्यांकअनुसार लकडाउन लागू भएको चैत ११ देखि हालसम्ममा सबभन्दा कम बारा जिल्लामा भारततर्फबाट सर्वसाधारणको प्रवेश भएको छ । लुकीछिपी नेपाल प्रवेशमा सप्तरीमा १५०, सिरहामा १७९, धनुषामा १०१, महोत्तरीमा १५९, सर्लाहीमा ३३८, रौतहटमा २५७, बारा ९३ र पर्सामा ३४३ जना छन् ।
नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये अधिकांश भारतबाट नेपाल प्रवेश गर्नेहरू रहेका छन् । यो सरकारको जानकारी आएको तथ्यांक मात्र हो । लकडाउन अघि मात्र होइन लकडाउनका बेला समेत लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको छ । पछिल्लो समय सोमबार मात्र थप दुई जनाको कोरोनाको संक्रमण देखिएको छ ।
रौतहट वृन्दावन नगरपालिका–९ का २४ वर्षीय युवक चैत १७ गते भारतको कलकत्ताबाट नेपाल प्रवेश गरेका थिए । त्यस्तै, दिल्लीबाट आएका रौतहटकै देबाही गोनाही–१ का ३५ वर्षीय पुरुष पनि वैशाख ४ गते नेपाल प्रवेश गरेका थिए ।
यसअघि, रौतहटका पहिलो कोरोना संक्रमित इशनाथ नगरपालिका–५ का १९ वर्षीय युवक पनि लकडाउनका बेला चैत १६ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनी अहिले निको भइसकेका छन् ।
सीमावर्ती जननासँग प्रदेश सरकारको अपिल
प्रदेश २ सरकारले लकडाउनका बाबजुद भारतबाट नेपाल प्रवेश गर्ने क्रम पूर्ण रूपमा नरोकिएको ठहर भन्दै सीमावर्ती जनतालाई सहयोग गर्न अपिल गरेको छ ।
लामो खुला सीमा भएकाले सुरक्षाकर्मीहरू मात्र राखेर पूर्ण रूपमा आवतजावत बन्द गर्न सम्भव नरहेकाले लुकीछिपी आउनेहरूको विषयमा स्थानीय तहसहित सम्बद्ध निकायलाई जानकारी गराउन प्रदेश सरकारले स्थानीयबासीसँग अनुरोध गरेको छ ।
लुकीछिपी आउनेहरूलाई तत्काल क्वारेन्टाइनमा राख्न र आवश्यक परीक्षण गर्न लगाउन प्रदेश सरकारले स्थानीय तहसँग अनुरोधसमेत गरेको छ ।



