
काठमाडौं, १३ वैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्ल्यूएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिुनभएको छ ।
उहाँका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ ।
परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।



