
काठमाडौं, १३ वैशाख । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रमजान सुरु भएको छ ।
कोरोना भाइरस सन्त्रासबीच शनिबार शुरु भएको रमजान महिनासँगै इस्लाम धर्मावलम्बीले घरमै नमाज अदा गरिरहेका छन् । हिजरी सम्वतको रमजान महिनामा दिनभरि रोजा अर्थात उपवास बसेर मस्जिदमा गरिने नमाज यसपालि मुस्लिम धर्मावलम्बीहरूले घरमै गर्न थालेका हुन् ।
इस्लाम परम्परामा रमदान महिना शुरु भएपछि दिनभरि अन्नजल केही नखाइ उपवास बस्ने र ब्रह्मचर्यमा रहने धार्मिक परम्परा छ । नाबालक, बिरामी, रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।
इस्लाम परम्परामा रमदान महिनाभरि रोजा र नमाज गर्दै अन्त्यमा इद–उल–फित्र पर्व मनाउने गरिन्छ । रमदानमा आफ्नो आम्दानीको दुई दशमलम पाँच प्रतिशत गरिब दुखीका लागि इद मनाउन ‘जकात’ छुट्याउने परम्परा छ ।
एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो ।
रमजानमा नमाज लगायत सवै धार्मिक काम घरभित्रै बसेर पूरा गर्न मुस्लिम आयोग र अगुवाहरूले आग्रह गरेका छन् ।



