
जनकपुरधाम, ७ बैशाख । कोराना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेकाहरूका लागि प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेज घोषणा गरेको छ ।
विपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरूका लागि प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्य नजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको हो ।
स्थानीय तहले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरूको सूचीका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत् राहत सामग्री खरिद गरी प्याकेट तयार गरेर सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
स्थानीय तहले बुझाएको सूचीमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेशसभा सदस्यहरूले छानविन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरणहरू खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ ।
यो रकमले थप पीसीआर मेसिनसहितका अन्य उपकरण खरिद गरिने जनाएको छ । त्यसैगरी मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरूको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।



