
जनकपुरधाम, २१ चैत । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरूलाई दिएको छ ।
निर्देशक समितिले बिहीबार मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समितिसँग शुक्रबार छलफल गरेको हो । बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यहरूको तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने चिकित्सकसहितका विज्ञहरूलाई जिम्मेवारी दिनुभएको छ ।
उहाँले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरूसँगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
सल्लाहकार समितिमा डा. रामकेवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजयकुमार सिंह, डा. गरिबदास ठाकृुर, डा. जेके लाल रहेका छन् ।
सल्लाहकार समितिले शुक्रबार बाटै कार्य प्रारम्भ गरेर यथाशीघ्र सुझावहरू सरकारलाई बुझाउने डा. रामकेवल साहले जानकारी दिनुभएको छ ।



