
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाग्लुङकी एक महिलामा कोरोना देखिएको हो ।
नेपालमा छैटौं केसका रूपमा देखिएका कोरोना संक्रमित यी महिला पनि गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी थिइन । उनी कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट नेपाल आएकी थिइन ।
यसअघि सोही फ्लाइटमा नेपाल आएका २ युवतीमा कोरोना संक्रमण देखिएको थियो । फ्रान्सबाट कतार आएकी १९ वर्षीया युवतीमा नेपालमा दोस्रो केसका रूपमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो ।
जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा ५ औं केसका रूपमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा कोरोना संक्रमण देखिनेको संख्या अहिलेसम्म ६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् ।
२ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।
छैटौं केसका रूपमा कोरोना संक्रमण देखिएकी बाग्लुङ नै घर भएकी महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।



