
जनकपुरधाम । बिहीबार भगवान रामको जन्मदिन अर्थात रामनवमी । हरेक वर्ष जनकपुरधामस्थित राम र जानकी मन्दिरमा भव्यताका साथ भगवान रामको जन्मजयन्ती मनाउने गरिन्छ ।
तर, यसपटक भने कोरोना भाइरसका कारण गरिएको लकडाउनले रामनवमी जस्तो महोत्वस ओझेलमा पा¥यो । बिहीबार राममन्दिर र जानकी मन्दिरमा श्रद्धालु बिना नै पूजा अर्चना गरिएको छ ।
दुबै मन्दिरका मूल ढोका बन्द गरी सर्वसाधारणको प्रवेशलाई निषेध गरी महन्तद्वारा पूजा अर्चना गरिएको हो ।
रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा विगतमा रामनवमीका अवसरमा आयोजना हुने गरिएको महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उलेख्य हुने गरेकोमा यसपटक कोरोनाका कारण सुनसान देखिएको छ ।
त्रेतायुगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औं पुरुताका राजा मानिन्छन् । उनी महाराजा दशरथका छोरा थिए ।



