
जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशभरका विपन्न तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरूको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाका लागि खानाको सरकारको तर्फबाट गर्ने गरेको हो ।
यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले यादवले जनाए ।
यसका लागि प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय समाजसेवी संस्थाहरू सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ ।
यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरूको जीवन बिमाका साथै सतप्रतिशत प्रोत्साहन भत्तासमेत दिइने भएको छ । सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र आगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठकसमेत बोलाएको थियो ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू ,कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरू शत्रुधन महतो, किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरूसमेतको सहभागिता थियो ।



