
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट चौथो व्यक्ती संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको सरकारले जनाएको छ । संक्रमित धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दुबईबाट आएका ३४ वर्षीय पुरुष गत चैत्र ११ गते धनगढीमा उपचारका लागि भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै कोरोना भाइरसको संक्रमण उपत्यका बाहिर पनि फैलिएको पुष्टि भएकाले उनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आग्रह समेत गरेका छन् ।
यसअघि नेपालमा गत माघ ९ गते पहिलो पटक एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसको दुई महिनापछि यही चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीय नेपाली युवतीमा पनि कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले गत सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको थियो ।
त्यसलगत्तै कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले मंगलबारदेखि एक साताको लकडाउन गरे पनि त्यसको भोलिपल्टै बुधबार दुवइबाट आएका धादिङका ३२ वर्षीय नेपाली युवा पनि कोरोना भाइरसबाट संक्रमित भएको खुलेको थियो ।
कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरू दुबैको अवस्था सामान्य रहेको छ । कोरोना भाइरसकै संक्रमणको आशंकामा टेकु अस्पतालमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।



